28.1 C
Kathmandu
Saturday, April 27, 2024

यस्तो छ सरकारको दसैँ–तिहारलक्षित तयारी

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै जाँदा सर्वसाधारणले मात्र होइन, सरकारले पनि त्यसको तयारी गरेको छ । चाडपर्व भन्नेबित्तिकै उपभोगको मात्रा बढ्नु सामान्य हो । यसै वेलालाई भनेर निजी क्षेत्रले विशेष प्रयोग हुने सामानहरू निकै पहिलेदेखि आयात तथा उत्पादन सुरु गरेका हुन्छन् ।

हरेक वर्ष महँगी बढेको तथा चाडपर्वको अवसर पारेर कालोबजारी बढेको गुनासो पनि उपभोक्ताले गर्दै आएका छन् । यसैलाई रोकथाम गर्न तथा बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले सांकेतिक रूपमै भए पनि उपभोग्य सामान आपूर्ति गरेर बिक्री गर्ने विशेष व्यवस्थादेखि अनुगमनको पनि व्यवस्था गर्दै आएको छ ।

आइतबारदेखि सहुलियत पसल सञ्चालन

सोही क्रममा सरकारले यही आइतबारदेखि सहुलियत पसल सञ्चालन गर्दै छ । साथै, सोमबारबाट देशभरका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय पनि भएको छ । साथै, घटस्थापना (२८ असोज)आसपासबाट नेपाल राष्ट्र बैंकले नयाँ नोटको सहटी सुविधा सञ्चालन गर्ने तयारी गरेको छ ।

व्यवसाय, रोजगारी, अध्ययनलगायतका उद्देश्यसहित देशभरका लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंलगायत मुख्य सहरमा बसोवास गर्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठूला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँगै चाडपर्व मनाउन जान्छन् । त्यस्तै, विदेशमा रहेका नेपाली दसैँकै अवसर पारेर स्वदेश फर्कनेको संख्या पनि उल्लेख्य हुने गर्छ । फलस्वरूप यसवेला यात्रुको चाप पनि हुने गर्छ । उपभोग र यात्रालाई ध्यान दिँदै बजारमा भएका तयारी यस्ता छन् :

२२ असोजबाट अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने
यातायात व्यवसायीहरूले आगामी २२ असोज (सोमबार)देखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला गर्ने भएका छन् । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलपछि सोमबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो ।

शनिबार र आइतबार आवश्यक तयारी गर्ने समय राखेर सोमबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उनले भने, ‘व्यवसायी साथीहरूलाई शनिबार र आइतबार आवश्यक तयारी गर्न समय दिएका छौँ । सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला हुन्छ ।’

सरकार र व्यवसायीबीच प्रचलित भाडादरमै टिकट बुकिङ खुला गरिएको हो । व्यवसायीहरूको मागबमोजिम दसैँपछि मात्रै सार्वजनिक यातायातको भाडादर पुनरावलोकन गरिने महानिर्देशक रिजालले बताए ।

हरेक वर्ष चैत मसान्तभित्र सार्वजनिक यातायातको भाडादर पुनरावलोकन गर्नुपर्ने नीति छ । तर, अझै त्यस्तो हुन सकेको छैन । अहिले दसैँको बहानामा व्यवसायीहरूले भाडादर पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए । तर, यो महँगीमा थप भाडा नबढाउने सरकारी अडान थियो । अहिले आएर दसैँपछि मात्रै भाडादर पुनरावलोकन गर्ने सर्तमा टिकट बुकिङ खुला गरिएको हो ।

अनलाइन सुविधा भने अपूरो
अहिलेको जमानामा अनलाइनमार्फत टिकट बुकिङ गर्न पाइने आमसर्वसाधारणको अपेक्षा थियो । तर, यसपालि पूर्ण रूपमा अनलाइन टिकट बुकिङ खुला गर्न नसकिने राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । ‘केही कम्पनीहरूले यसअघि नै अनलाइट टिकेटिङको सुविधा ल्याइसकेका छन् । उनीहरूमा अनलाइनमार्फत टिकट बुकिङ गर्न सकिन्छ, अन्यमा भने गाह्रो छ,’ उनले भने, ‘आगामी वर्षदेखि भने पूर्ण रूपमा अनलाइनमा जाने हाम्रो तयारी छ ।’

दसैँ मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । त्यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने परम्परा छ ।

झन्डै ६ सय गाडी थप, यसरी हुँदै छ गाडीको व्यवस्थापन
यो वर्ष दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिने यातायात व्यवसायीहरूको अनुमान छ । दसैँ मनाउन घटस्थापनापछि दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । साथै, प्रचलित सवारीसाधनले पनि पुग्न गाह्रो हुने देखिन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै देशभरका यातायात व्यवसायीले पाँचदेखि ६ सय गाडी थप्ने महासंघका अध्यक्ष स्वाँरले बताए । दसैँका वेला गाडी व्यवस्थापन गर्न चाप कम पर्ने रुटको गाडी (काठमाडौंबाहिर समेत चल्ने) चाप बढी पर्ने रुटमा हाल्ने तयारी व्यवसायीको छ । जुन रुटमा यात्रुको चाप हुँदैन, त्यस रुटको गाडी लिएर यात्रुको चाप हुने ठाउँमा सञ्चालन गर्ने स्वाँरले बताए ।

‘दसैँका वेलामा रुट पर्मिट पनि लागू हुँदैन, जुन गाडी जता पनि जान सक्छ । सोहीअनुसार एक रुटको गाडी अर्काे रुटमा चलाएर भए पनि हामी यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन तयार छौँ,’ उनले भने, ‘कुनै पनि हालतमा दसैँमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउँछौँ ।’

दसैँमा नयाँ बसपार्कबाट मात्रै दैनिक एक हजार पाँच सय बस बाहिरिन्छन् । नागढुंगा नाकाबाट दैनिक तीन हजार पाँच सय सार्वजनिक गाडी बाहिरिन्छन् । तीबाहेक चोभार, साँगा नाकाबाट पनि धेरै गाडी बाहिरिन्छन् । समग्रमा दसैँका वेला दैनिक पाँच हजार गाडी बाहिरिने गर्छन् ।

घटस्थापनाबाट नयाँ नोट सटही
दसैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले पनि घटस्थापनाआसपासबाट नयाँ नोटको सटही सुविधा दिने तयारी गरेको छ । दसैँमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने प्रचलन छ । सोहीअनुसार घटस्थापनाआसपासबाट नयाँ नोट सटही सुविधा दिने तयारी रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले जानकारी दिए । यसबारे आइतबार औपचारिक निर्णय हुनेछ । उनका अनुसार एकजना व्यक्तिले १८ हजार पाँच सय रुपैयाँसम्मको सटही सुविधा पाउनेछन् । एक सय, ५०, २०, १० र पाँच रुपैयाँको नोट एक सय थानका दरले सटही सुविधा पाइनेछ । यद्यपि, कागजीभन्दा पनि डिजिटल दक्षिणामा जोड दिने राष्ट्र बैंकको तयारी छ ।

सस्ता टिकट सकिए, कतिपय गन्तव्य नै प्याक
हवाई टिकट दसैँका लागि भनेर औपचारिक बुकिङ खुला हुँदैन । अनलाइन हुने हुँदा टिकट भने धमाधम बुकिङ भइरहेका छन् । दसैँको सप्तमी, अष्टमी र नवमीका लागि टिकटको बढी माग हुने गर्छ । तीन दिनका लागि कतिपय गन्तव्यको हवाई टिकट फुल बुकिङ भइसकेको छ । धेरै उडान भएका गन्तव्यमा ७०–८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको वायुसेवा कम्पनीका प्रतिनिधि बताउँछन् ।

तुम्लिङटार, सुर्खेतजस्ता केही गन्तव्यको उडानमा पूरै टिकट बुकिङ भइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । सुगम गन्तव्यमा धेरै उडान हुने हुँदा कतिपय ठाउँमा ७० प्रतिशत र कतिपय गन्तव्यमा ८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको छ । अब सहुलियत भाडादरको टिकट भेट्टाउन भने मुस्किल पर्छ ।

अहिले दसैँका लागि भनेर हवाई टिकट धमाधम बुकिङ भइरहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । सप्तमी, अष्टमी र नवमीमा एकतर्फी सिट फुल बुकिङ भइसकेको उनको भनाइ छ । ‘टीकाको अगाडि तीन दिन एकतर्फी प्याक हुन्छ, काठमाडौं फर्किने यात्रु हुँदैनन्,’ उनले भने, ‘टीकाको दिन दुईतर्फी नै यात्रु हुन्छन्, त्यसपछि काठमाडौं फर्किने यात्रु हुन्छन्, बाहिर जाने हुँदैनन् ।’

यदि यात्रुको माग बढेमा नियामक निकायसँग स्लट मागेर उडान थप गर्न सकिने उनीहरूले बताएका छन् । तर, गत वर्षको दसैँमा उडान थप्नुनपरेको हुँदा यस वर्ष नियमित उडान नै पर्याप्त हुने मानन्धरको भनाइ छ । ‘हामीले यात्रुको माग भयो भने फ्लाइट बढाउन सक्छौँ, तर अहिल्यै यसै भन्न सकिन्न,’ उनले भने, ‘अहिले धेरैसँग व्यक्तिगत गाडी नै हुन थाले, केही यात्रुले आफू–आफू मिलेर गाडी बुकिङ गरेर जान्छन् ।’ बुद्ध एयरका प्रवक्ता कर्ण पनि दसैँमा यात्रुको माग बढेमा नियामकसँग छलफल गरेर उडान बढाउन सकिने बताउँछन् । सभार: नयाँ पत्रिका

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु