माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् ।
शनिबार बिहान चितवन पुगेका प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशी प्रदेशमा समस्या आएपनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको बताए । कोशी प्रदेशको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको उनको भनाइ थियो । ‘केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा-परिचर्चा चलेको थियो त्यस्तो छैन,’ उनले भने, ‘चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धन भित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’
कोइराला पक्षका केदार कार्कीले कांग्रेसको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरू बसेर शनिबार बिहान सहमति गरेका थिए । बालुवाटारमा बसेको दाहाल, देउवा र कोइरालाको सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’