26.1 C
Kathmandu
Tuesday, July 23, 2024

दिगो विकासका लागि कृषि

नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिबाटै पनि नेपाल धनी मुलुक बन्न सक्छ । नेपालमा कृषि क्षेत्रको उत्थानका लागि केही प्रयत्न गरिए पनि यसले पूर्णता प्राप्त गर्न सकेको छैन । जसका कारण कृषिप्रधान देश भएरै पनि केवल खाद्यान्नकै लागि बर्सेनि अर्बौं रुपियाँ बाहिरिन थालेको छ ।

कृषिको प्रचुर सम्भावना भएको देश नेपालमा पूर्वाधारलगायत कृषिकर्म प्राथमिकतामा नपर्नु नै यसको मुख्य समस्या हो । यहाँ किसानका उत्पादित वस्तु बजारसम्म पु-याउन पर्याप्त रूपमा ग्रामीण सडक सञ्जालको विकास हुन सकेको छैन, भएका पनि बाह्रै महिना सञ्चालनमा आउन नसक्ने समस्या छ । गाउँको उत्पादन सहरमा र सहरको उत्पादन गाउँसम्म पुर्‍याउन सडक सञ्जालको विकास हुनु अनिवार्य छ । गाउँलाई आत्मनिर्भरतातर्फ डोर्‍याउन यसले ठुलो मद्दत गर्छ । साथै यसबाट सहरको उत्पादनको वितरण ग्रामीण भेगसम्म पुग्ने भरपर्दो उपायको खोजी गर्न सकिन्छ । ग्रामीण सिप र परम्परागत मूल्य, मान्यताको जगेर्ना गर्न अवसरका रूपमा यसलाई लिन ढिला हुन लागिरहेको छ ।

कृषि क्षेत्रको उत्पादकत्व नबढ्नुका प्रमुख कारकमा मौसममा निर्भर खेती प्रणाली, जग्गाको खण्डीकरण, न्यूनतम आवश्यक पूर्वाधारको कमी, कृषि अनुसन्धान एवं प्राविधिक विकासको सुस्तता र पर्याप्त वित्तीय सेवाको अभाव आदि देखिएका छन् । नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था भएको तथ्याङ्क छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा केही समयअघि उक्त तथ्याङ्क प्रस्तुत गरेको थियो । आकासे खेतीको भरले हुने उत्पादन निर्वाहमुखी मात्र हुने र यसले व्यावसायिक कृषि उत्पादनमा जोड दिन सक्दैन । साथै राज्यस्तरबाट समयानुकूल नीति, योजना तथा कार्यक्रम लागु गर्नाले किसानले पाउने राहतदेखि सेवासुविधाले खेतीमा लगानी गर्ने किसानको मनोबल बढाउँछ ।

सरकारले दीर्घकालीन कृषि कार्यक्रम ल्याई गरिबी न्यूनीकरणका लागि कृषि उत्पादन र ग्रामीण रोजगारीमा वृद्धि गर्न सीमान्त कृषि भूमिमा समेत सिँचाइ सुविधाको विस्तार गर्नु आवश्यक छ । एकातिर देशको आर्थिक वृद्धि तथा समग्र विकास कृषि क्षेत्रको उत्पादकत्वमा निर्भर रहेको छ भने अर्कोतिर कृषि क्षेत्रको तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताको सम्भाव्यता पनि उच्च छ । नेपालको भूमि उर्वर रहेकाले कृषि क्षेत्रबाटै द्रुत लाभ लिन सकिने कुरामा दुई मत नभए पनि सरोकारवाला निकायबाट उचित योजना र लगानीको अभाव रहेकोलाई नकार्न सकिँदैन ।

तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । पहाडी तथा तराई क्षेत्रमा ठुला तथा सम्भावना बोकेका नदीका कारण कृषिलाई सिञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न सकिने सम्भावना छ । त्यसै गरी हिमाली क्षेत्रमा जडीबुटीको उत्पादनले देशको आर्थिक स्तर सहजै माथि उकास्ने अड्कल नभएका होइनन् । मुलुकको दिगो आर्थिक विकासका साथै बलियो ग्रामीण अर्थतन्त्रलाई उपलब्धिमूलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पुर्‍याउन गाह्रो छैन ।

कुनै समयमा विश्व बजारमा अत्यधिक बलिया र आर्थिक उपार्जनका रूपमा मानिएका आर्थिक क्षेत्रहरूसमेत समयक्रमसँगै धराशायी बन्दै गएको औद्योगिक पृष्ठभूमिमा कृषि यस्तो क्षेत्र हो; जो जीवन रहेसम्म रहन्छ । अर्थात् जबसम्म कृषि छ, तबसम्म जीवन रहन्छ । उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले उद्योगधन्दालाई मात खुवाउन सक्छ । जसको उदाहरणका रूपमा हाम्रै छिमेकी देश भारतको पन्जाब प्रान्त र कास्मिरलगायत क्षेत्रले कृषिमा गरेका विकासलाई लिन सकिन्छ । त्यस्तै कृषि विकासको गतिमा उल्लेख्य फड्को मारेका चीन, कोरिया, बङ्गलादेश जस्ता देशलाई हेर्ने हो भने उनीहरूले आधुनिक प्रविधिको प्रयोगमा बढी जोड दिने गरेका छन् । यस्ता पाठ सिकेर नेपालले पनि बेलैमा कृषिमा लगानी बढाउन सक्नु पर्दछ ।

सरकारले नेपालले कृषिमा फड्को मार्न सक्ने बताइरहँदा अन्ततोगत्वा देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प नहुन सक्छ । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सके मात्र कृषि व्यवसायले गति लिन सक्छ तर अचेल हाम्रो कृषि क्षेत्रको प्रमुख समस्या भनेकै बजारसम्मको पहुँच हो भन्दा पनि अतिसयोक्ति नहोला ।

उत्पादन गरिएका वस्तुको भण्डारणमा उचित व्यवस्थासमेत नहुने भएकाले किसान सस्तो मोलमा आफ्ना उत्पादनहरू बेच्न बाध्य हुने गरेको तथ्य हामीसामु छर्लङ्ग छ । बिचौलियाको शोषणमा किसान परेका छन् । गरिब किसानको भण्डारको अभावको फाइदा धूर्त बिचौलियाले उठाइरहेका छन् । यस्तो बेथितिको अन्त्य नभएसम्म कृषकको उत्थान, प्रगति, गरिबी निवारण र कृषिमा निर्भरता हाम्रो दिवा सपनासिवाय अरू हुन सक्दैन । यस्तो प्रवृत्तिले साना किसानका साथसाथै आमउपभोक्तासमेत मूल्यवृद्धिको चपेटामा पर्न बाध्य छन् । जसका लागि राज्यले किसानको उत्पादनमा सुरक्षा र लगानीमा ग्यारेन्टीको भावना विकास गर्न सक्नु पर्दछ ।

नेपालमा कृषि क्षेत्रलाई माथि उकास्न आधुनिक किसिमको प्रविधि भित्र्याउन मात्र सकियो भने हामी आर्थिक समृद्धितिर अघि बढ्छौँ । कृषि पेसालाई हरेक नेपालीको आशाको केन्द्रका रूपमा लिँदै आए पनि यसले आशातीत प्रतिफल दिन नसक्नुका पछाडि धेरै कारण रहेका छन् ।

अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषिलाई हालसम्म सम्मानित पेसा बनाउन सकिएको छैन । विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुस गर्दछौँ । कृषि पेसालाई प्राथमिकता नदिनु, कृषि कर्मलाई सम्मान नगरिनु नै हाम्रो प्रमुख दोष हो ।

हाम्रो देशको कृषि व्यवसाय हालसम्म पनि मौसमी खेतीमा भर परिरहेको अवस्था छ । समय सुहाउँदो विकासमा हामी लम्कन सकेको छैनौँ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन सकिन्छ । हामी अझै परम्परागत कृषि कर्ममा नै छौँ  । जसले उच्चतम उत्पादन दिन पनि सक्दैन र लागत पनि बढी लाग्दछ । हाम्रो देशको कृषि प्रणाली जति नै ठुला गफ गरे पनि निर्वाहमुखीबाट माथि उठ्न सकेको देखिँदैन । अझ हरेक कुरामा विदेशीको भर पर्नुपर्ने बाध्यता छ । गुन्द्रुकसमेत चीनबाट आयात गर्नुपर्ने परिस्थितिबाट नेपाली समाज बाँचिरहेको छ ।

किसानलाई कृषि औजार, उपकरण, बिउबिजन, मलखाद खरिददेखि लिएर युवालक्षित कार्यक्रम अन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवर्धनका लागि रकम प्रदान गरेर कृषिलाई आत्मनिर्भर बनाउन सक्नु पर्दछ । उचित मात्रा नमिलाई प्रयोग भएको रासायनिक मलको कारणले माटोको खस्किँदो गुणस्तर, बदलिँदो मौसमचक्र, घट्दो खेतीयोग्य जमिन, भएको जमिन पनि घडेरी प्लटिङका कारणले अनुत्पादक हुन पुगेको तितो यथार्थ हाम्रोसामु छर्लङ्ग छ । जलवायु परिवर्तन र तापक्रम वृद्धि जस्ता कारणबाट यही स्थितिको उत्पादकत्व वृद्धि पनि ठुलो चुनौतीका रूपमा रहने सम्भावना बढ्दो छ । यी र यस्ता प्रकारका समस्यालाई राज्य स्तरबाट ध्यान दिनु अनिवार्य छ ।

यसर्थ नेपालको हावापानी सुहाउँदो कृषि व्यवसायको थालनी गर्नुपर्ने, किसानलाई आवश्यक तालिम, सहुलियतपूर्ण ऋण र उत्प्रेरणा पुग्ने खालको कार्यक्रम दिन सक्नुपर्ने आजको आवश्यकता हो । उत्पादित वस्तुको उचित मूल्य समायोजन गरी राष्ट्रिय रूपमा बिक्री वितरण र अन्तर्राष्ट्रिय स्तरसम्मको उत्पादनमा जोड दिँदै कृषि व्यवसायीलाई प्रोत्साहन, क्षतिपूर्तिको व्यवस्थामा सरकारले ध्यान दिने हो भने नेपालको भावी कृषि नीति र व्यवसायीले उपलब्धि हासिल गर्न सक्ने सम्भावना प्रशस्तै छन् । सभार गोरखापत्र दैनिक

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु