23.8 C
Kathmandu
Tuesday, June 25, 2024

नेपाल टेलिभिजनको सम्बन्धमा सांसद भण्डारीको अभिव्यक्ति सत्य कम आक्रोश बढी !

बाबा अक्षर भनेको के हो ? अनायासै बुनु मेरो छेवैमा आएर सोधी । किन बुनु ? म प्रतिप्रश्न गरेँ ।बुनु मेरी छोरी । अहिले आठ कक्षामा पढ्दै छे । सम्बल प्रश्नको असम्बल उत्तर दिन मैले चाहिन । न म आफूले त्यति नदोहोरिएको  अफवाहलाई  अक्षरहरूको  समूहबाट  आफ्नो  अज्ञानताको  मुकुण्डोलाई  छोप्न  चाहन्छु  ।  म  घोत्लिएँ  ।  मेरो  मस्तिष्कहरू एक आपसमा ठोक्किए निष्कर्षविहीन बनेर । बाबा, छोरी फेरी चिच्याइ । म नाजवाफ भएँ । पुलुक्क हेरेँ । मुसुक्क हाँसे । बुनुको प्रश्नको जवाफ दिनुको साटो फेरी सोधेँ किन यो प्रश्न सोध्यौ छोरी ?

म सहजै भन्न सक्थे, अक्षर अचेतन ध्वनिको चेतन एकाइ हो । अक्षर अविनाशी हो । अक्षर अपरिवर्तनशील हो । अक्षर प्रश्न हो, उत्तर पनि हो । अक्षर निरक्षर अँध्यारोबाट उज्यालो धर्तीमा अवतरण गर्ने गराउने माध्यम हो । अक्षर निर्जीव अहङ्कारको जीवित रूपान्तरण हो । ढोँगी ज्ञानको सजीव दृश्य हो । षड्यन्त्रको पर्दाफास हो । अक्षर अनश्वर हो । अटल हो । अक्षर नै ईश्वर हो र जीवात्मा पनि । अक्षर अज्ञानको ज्ञान हो । मूर्खको विद्वान् हो । घमण्डको शालीनता हो र सभ्य समाजको द्योतक हो । अक्षर शब्द भण्डार होइन । गैरजिम्मेवार अभिव्यक्तिमार्फत अभिव्यक्त छदम् विद्वान्को अविवेकी टिप्पणी होइन । इतिहासको साक्षीको अन्त्य गरी लोकप्रियताका ढोङमा रमाउने अविवेकी आलाप होइन छोरी । यो त इतिहास जान्ने, इतिहास बुझ्ने र इतिहासलाई सम्मान गर्ने चेतना जगाउने अविच्छिन्न दीप हो ।

म धेरैबेर घोत्लिरहेको थिएँ । छोरीले झस्काइ ! बाबा ! गत बुधवार संसद्को शिक्षा समितिमा नेपाल टेलिभिजन र रेडियो नेपालको विषयमा छलफल रहेछ । कुनै पनि राज्यको निकायका विषयमा संसदीय समितिमा छलफल भई उन्नत बनाउनु वा बनाउन सिफारिस गर्नु अति उत्तम कुरा हो । सांसदहरू सुमना श्रेष्ठ, डा.तोसिमा कार्की जो अहिले सञ्चार माध्यमलाई बुझ्नु भएको छ र प्रयोग पनि । उहाँहरूले बडो राम्रो सुझाव दिनुभयो । मैले देखेको र बुझेको त्यही हो । यो मेरो बुझाइ गलत पनि हुन सक्छ ।

नेपाल टेलिभिजन नेपालको लोकतान्त्रिक आन्दोलनको एक मात्र साक्षी सञ्चार माध्यम हो । नेपाल टेलिभिजन ३० वर्षे पञ्चायती कालरात्रि,  संवैधानिक  राजतन्त्र,  माओवादी  जनयुद्ध  र  सङ्घीय  लोकतान्त्रिक गणतन्त्रको एक मात्र सुन्ने देख्ने साक्षी हो । जीवित दस्ताबेज हो । नेपाल टेलिभिजन, इतिहासमा राजा र राजतन्त्र जोगाउन प्रयोग भयो होला । आज लोकतन्त्र समृद्ध र उन्नत बनाउन उद्दत छ । नेपाल टेलिभिजन यो देशको सबै नेपालीले आफ्नो तस्बिर भेटाउने साझा चौतारी बन्ने प्रयासमा छ । डा. तोसिमा, नेपाल टेलिभिजनको निःशुल्क पहुँचको विषयमा चासो देखाउँदै हुनुहुन्थ्यो । धन्यवाद डा.तोसिमा । उमेरले पाको, जेठो, पुरानो, इतिहास बोकेको पुरातनको उन्नत भविष्य र यसलाई आममानिसको अपनत्व गराउने कुरामा एउटा नूतन आकाङ्क्षाको शीतल वर्षा भयो । सांसद श्रेष्ठले विषय विज्ञसंँग बसेर विहङ्म छलफल गर्न सुझाउनु भयो ।

शिक्षा  समितिको  बैठकमा  एक  जना  सांसदको  नेपाल  टेलिभिजन र रेडियो नेपालको उपादेयताको बारेमा निकै आक्रोशपूर्ण अभिव्यक्ति  थियो  ।  म  त  एनटिभी  हेर्दिन  ।  कोही  पनि  हेर्दैन  होला । कसैले नहेर्ने टेलिभिजन किन चलाउनुप¥यो बन्द गरिदिए हुन्छ । त्यहाँको एङकरिङ भएन, कार्यव्रmम भएन, सायद यस्तै आशय थियो । बन्द गरिदिनुस् नेपाल टेलिभिजन र रेडियो नेपाललाई । बन्द गरिदिनुस् ००७ सालको तारिणीप्रसाद कोइरालाको ।।।यो रेडियो नेपाल हो’ भन्ने आवाजलाई । बन्द गरिदिनुस् ०१५ सालको पहिलो निर्वाचन र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको व्यावहारिक कार्यान्वयनलाई । बन्द गरिदिनुस् राजा महेन्द्रको ०१७ साल पुस १ को राजनीतिक घटनाको साक्षीलाई । बन्द गरिदिनुस् ०३६ सालको जनमत सङ्ग्रहलाई र बन्द गरिदिनुस् २०४२ सालको सत्याग्रहको इतिहास । बन्द गरिदिनुस् ०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनको इतिहासलाई । बन्द गरिदिनुस् सर्वोच्च नेता गणेशमान सिंह नेतृत्वकोे संयुक्त जनआन्दोलनको इतिहासलाई । बन्द गरिदिनुस् सन्तनेता कृष्णप्रसाद भट्टराई र उहाँको नेतृत्वमा निर्माण गरिएको २०४७ सालको संविधानलाई । बन्द गरिदिनुस् ०४६ साल चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध हटाइ प्रजातन्त्र पुनस्र्थापनाको घोषणा गरेको इतिहासलाई । बन्द गरिदिनुस् मदन भण्डारीले राजा वीरेन्द्रलाई चुनावबाट स्थापित हुन दिनुभएको सार्वजनिक चुनौतीलाई । बन्द गरिदिनुस् त्यो बेलाका युवामा देखिएको स्वतन्त्रताको चाहनालाई  ।  हौसलाको  वसन्तलाई  ।  निरङ्कुशताको  अन्त्य  अनि  लोकतन्त्रको  उदयलाई  ।  आवाजविहीनको  आवाजलाई  ।  दृष्टिविहीनहरूको दृश्यलाई र न्यायको अङ्कुरणलाई । यदि यो देशमा यी दुई संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन घाँडो भएको छ भने बन्द गरिदिनुस् । सार्वजनिक रूपमा अपमान गरेर होइन । हेपेर होइन । घोचेर होइन । बेइज्जत गरेर होइन । थाहै नदिइकन सुटुक्कै बन्द गरिदिनुस् ।

बडो पीडा भयो । भक्कानो छुट्यो । मुटु चिसियो तपाईंको भनाइ सुनेर । यी संस्थालाई आफ्नो घर भन्दा पनि प्यारो ठान्ने ठुलै जमात छ । यी संस्थाले संसार चिनाएका र स्थापित गरेका मानिसको सङ्ख्या ठुलै छ । यी संस्थाले प्रत्येक नेपाली घरमा पुगेर मुलुकलाई चिनाएको छ । सुनाएको छ । पीडा भएको रहेछ । एक्लै बर्बराउँदै भनेछु, आज अक्षर निरक्षर भयो । सूर्यको उज्यालोलाई चन्द्रमाले छेक्न खोज्यो । त्यसैले त छोरी सोध्छे । बाबा अक्षर भनेको के हो ?

कसैले हेर्दैन नेपाल टेलिभिजन भन्ने कुरा कसरी पत्याउने ?  हामीलाई  थाहै  होला  सेयरकास्ट  इनिसिएटिभ्सको  रिपोर्ट,  जो  अनुसन्धानबाट निकालिएको हो । अहिलेसम्म पनि सबैभन्दा बढी दर्शकले  नेपाल  टेलिभिजनको  बेलुकी  ८  बजेको  समाचार  हेर्ने  गर्दछन् । सबैभन्दा विश्वासिलो टेलिभिजनको समाचार छ । यो मेरो दाबी होइन अनुसन्धानको निचोड हो ।

एङ्कर भएन भन्नुभयो । कस्तो एङ्कर चाहिने हो । सभ्य, श्लील र परिपक्व या अरू कुनै । कस्तो सामग्री दिने हो ? सामाजिक सद्भाव कायम गर्ने कि विखण्डन गर्ने । द्वन्द्व घटाउने कि बढाउने ? हिंसालाई प्रोत्साहित गर्ने कि निरुत्साहित गर्ने ? बेमेल बढाउने कि मेल बढाउने ? समाजमा बिक्ने कि, समाजले सिक्ने ? कस्तो भाषा बोल्ने हो ? अनादर, अश्लील, अस्पष्ट कि शालीन, आदरार्थी, श्लील र सुस्पष्ट । श्रोता दर्शकले सिक्ने कि बिक्ने ?त्यसैले नहेरेको, नदेखेको र नजानेको विषयमा गरिएको भद्धा टिप्पणी बिकाउ त होला तर टिकाउ हुँदैन । त्यसले टिप्पणीकारको कद उँचो होइन होचो बनाउँछ । जहाँसम्म नेतृत्वको विषय छ, त्यसमा मेरो कुनै टिप्पणी छैन । सरकारले नियुक्त गर्छ । विज्ञ गर्छ या अविज्ञ । विज्ञ पठायो राम्रो गर्छ । अविज्ञ पठायो संस्थालाई कमजोर बनाउँछ । कस्तो पठाउने नीति बनाउने हो, त्यो सांसदकै हातमा छ । सार्वजनिक प्रसारण माध्यममा लाने विषयमा भएको छलफलमा उठेका जिम्मेवार विषयले मनै छोयो । लेखक: शालिक सुवेदी / साभार गोरखापत्र दैनिक

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु