26.1 C
Kathmandu
Thursday, May 23, 2024

डलरको मुल्य बढ्दा नेपाली अर्थतन्त्रमा पर्ने असर  

उदीयमान अर्थतन्त्र भएका मुलुक र अमेरिकाबीचको व्यापार युद्द र अमेरिकाले लिएको ब्याजदर वृद्धिको नीतिले अन्तर्राष्ट्रिय बजारमै डलरको माग निरन्तर बढिरहेको छ । सन् २०१८ सुरु भएदेखि अमेरिकी डलर ८ प्रतिशतभन्दा बढीले महँगो भएको छ । डलरको भाउ उच्च हुँदा उदीयमान अर्थतन्त्र भएका मुलुकको मुद्रा कमजोर हुँदै गएको छ । कच्चा तेलमा भएको उच्च मूल्य वृद्धि, चालू खातामा भएको उच्च घाटालगायतले भारतीय मुद्राको अवमूल्यन भएको हो ।

सकारात्मक असर

१. रेमिट्यान्स बढ्छ, ब्याजदर घट्न सक्छ : डलरको मूल्य वृद्धि हुँदा नेपाल आउने रेमिट्यान्स स्वतः वृद्धि हुन्छ । युरोप, अमेरिका, खाडी, मलेसिया, जापान वा कोरियाबाट १०० डलर पठाउँदा परिवारले पाँच महिनाअघि १०४ नेपाली रुपैयाँ पाउँथे भने अहिले ११६ रुपैयाँ पाउँछन् । यसरी समग्र रेमिट्यान्सको मात्रा बढ्छ ।

अघिल्लो वर्ष ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । नेपालको अर्थतन्त्रको २५ प्रतिशतबराबर रेमिट्यान्स आउँछ । विदेशमा रहेका करिब ४३ लाख नेपालीले वार्षिक ७ खर्बभन्दा बढी रेमिट्यान्स पठाउँछन् । डलरको वृद्धिसँगै पछिल्ला दुई महिनायता रेमिट्यान्समा वृद्धि भएको छ । यस्तो पैसाले बैंकमा मौज्दात बढेमा ब्याजदर घट्न सक्छ ।

२. निर्यात बढ्न सक्छ : हामीले हाम्रो वस्तु तथा सेवा निर्यात गर्दा हुने आय डलरमा हुन्छ । नेपाली सामान आयातकर्ताले डलरमा भुक्तानी गर्छन् । उनीहरूले हिजोकै अनुपातमा डलर भुक्तानी गरे पनि नेपाली व्यवसायीले धेरै पैसा पाउँछन् । त्यसैले डलरको मूल्यसँगै हाम्रो निर्यात मूल्य पनि वृद्धि हुन्छ । अघिल्लो आवमा नेपालले कुल ८१ अर्ब १९ करोड रुपैयाँबराबर निर्यात गरेको थियो । चालू आवको पहिलो महिनामा नेपालले ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात गरेको छ ।

३. पर्यटनबाट आय बढ्छ : होटेल, टुर प्याकेज र ट्रेकिङलगायत पर्यटनका सबैजसो सुविधा डलरमा बुक भएका हुन्छन् । पर्यटकले उत्ति पैसा तिरे पनि व्यवसायीले अब धेरै पैसा पाउँछन् । यसले पर्यटन उद्योगलाई सकारात्मक असर पर्छ ।

नकारात्मक असर

१. महँगी बढ्न सक्छ : नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुक हो । अर्थात्, हामी अधिकांश वस्तु विदेशबाट आयात गरेर उपभोग गर्छौँ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मै नेपालले १ खर्ब २० अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ । यसरी आयात हुने वस्तुको भुक्तानी डलरमा गरिन्छ । जसका कारण डलरको भाउ बढेपछि त्यस्ता वस्तुको भाउसमेत बढ्ने सम्भावना हुन्छ । डलरको मूल्य वृद्धि हुँदा नेपालमा ‘पुस इन्फ्लासन’ (एकले गर्दा अर्कोको भाउ बढ्ने प्रवृत्ति) हुनेछ ।

२. ऋणको दायित्व बढ्छ : गत फागुन महिनासम्ममा नेपालको तिर्न बाँकी वैदेशिक ऋण ८ खर्ब ४३ अर्ब रुपैयाँ पुगिसकेको छ । चालू आर्थिक वर्षमा विनियोजित खर्चका लागि सरकारले २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख रुपैयाँ ऋण लिने जनाएको छ । यसरी सरकारले लिएको ऋण भाउ बढेको डलरमा भुक्तान गर्दा नेपाललाई नोक्सान पर्दछ ।

३. अयोजना महँगा बन्छन् : नेपालमा निर्माणाधीन थुप्रै पूर्वाधार आयोजनाका ठेकेदार तथा परामर्शदाता विदेशी रहेका छन् । उनीहरूलाई डलरमै भुक्तानी गर्नुपर्ने हुन्छ । यसले गर्दा परियोजनाको कुल लागत नै महँगो पर्न जान्छ । उदाहरणका लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठेक्का गर्दा प्रतिडलरको भाउ करिब ८० रुपैयाँ रहेको थियो । जब कि, अहिले १ सय १६ रुपैयाँ नाघिसकेको छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, एयरपोर्टलगायत परियोजना निर्माणमा संलग्न विदेशी ठेकेदार तथा परामर्शदातालाई बढेको भाउअनुसार डलरमा भुक्तानी गर्नुपर्दा नेपाललाई नोक्सान हुन्छ ।

४. विद्युत् खरिद महँगो  : नेपालले भारतबाट अहिले करिब चार सय मेगावाट विद्युत् खरिद गरिरहेको छ । गत आवमा नेपालले करिब १९ अर्ब रुपैयाँको विद्युत् खरिद गरेको थियो । नेपालले डलर बिक्री गरेर भारु खरिद गर्ने गर्छ । यसले गर्दा विद्युत् आयात पनि महँगो पर्ने देखिन्छ । अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनासँग डलरमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । यसर्थ, मूल्य बढेका वेला डलरमा भुक्तानी गर्दा प्राधिरकणलाई नोक्सान पर्नेछ । ती दुवै परियोजनासँग डलर सटहीको सम्पूर्ण जोखिम विद्युत् प्राधिकरणले व्यहोर्ने गरी पिपिए गरेको छ ।

५.  अस्थिरताले लगानी प्रभावित हुन्छ : डलरको भाउमा आएको अस्वाभाविक उतारचढावले बजारमा अस्थिरता उत्पन्न गराउँछ । यसले गर्दा विदेशी लगानीसमेत प्रभावित हुने विज्ञहरू बताउँछन् । डलर उतारचढावकै कारण उत्पादन लागत, आम्दानी तथा नाफामा अस्थिरता हुने देखिएपछि स्वाभाविक रूपमा विदेशी लगानीकर्ता हच्किने योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन् ।

यस्तो  छ विदेशी विनमय सञ्चितिको अवस्था

गत असार मासान्तसम्ममा नेपालमा कुल विदेशी विनिमय ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भन्दा २.१ प्रतिशतले बढी हो । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ । हाल रहेको सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्र बैंकले जनाएको छ ।

नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको छ । बुधबार कायम भएको डलरको बिक्री मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्ला एक वर्षमा नेपाली मुद्रासँग अमेरिकी डलरको भाउ १४ रुपैयाँ ०१ पैसाले बढेको छ, जुन करिब १४ प्रतिशत हो ।

अघिल्लो वर्षको २७ भदौमा डलरको बिक्रीदर १ सय २ रुपैयाँ ६० पैसा रहेको थियो । गत अप्रिलदेखि डलरको मूल्य उच्चदरमा बढ्दै गएको हो । गत अप्रिल महिनामा डलरको भाउ १ सय ४ रुपैयाँ ८० पैसा थियो । मे महिनामा १ सय ८ रुपैयाँ ३ पैसा पुग्यो । जुलाईमा १ सय १० रुपैयाँ ३४ पैसा पुग्यो । र, सेप्टेम्बरमा आइपुग्दा १ सय १६ रुपैयाँभन्दा बढी पुगेको हो । यो पाँच महिनाको अवधिमा मात्रै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ११ दशमलव २६ प्रतिशतले सस्तिएको छ ।

 

 

 

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु