19.1 C
Kathmandu
Friday, May 3, 2024

सरकारी सञ्चारमाध्यमको संरचनाबाट सार्वजनिक प्रसारणको बाटोमा रेडियो नेपाल र नेपाल टेलिभिजन

रेडियो नेपाल आजबाट स्थापनाको ७१ वर्ष पूरा गरी ७२औँ वर्षमा प्रवेश गर्दै छ । विगत कालखण्डदेखि अनेक आरोह–अवरोह खेप्दै सात दशकको यात्रा पूरा गरेको रेडियो नेपाल सरकारी सञ्चारमाध्यमको संरचनाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रूपान्तरण हुने क्रममा छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पु-याउँदै आएको रेडियो नेपालको नेपाली समाजको सकारात्मक परिवर्तन र सामाजिक जनचेतना फैलाउनुका साथै समसामयिक समाचार, सूचनासहित स्वस्थ मनोरञ्जन उपलब्ध गराउनमा भूमिका छ ।राज्यको राष्ट्रिय प्रसारणका हिसाबले नवीनतम प्राविधि र बदलिँदो परिप्रेक्ष्यमा रेडियो सामग्री श्रोतासमक्ष पु-याउन कम्मर कसेको रेडियो नेपालका आफ्नै समस्या र चुनौती पनि नभएका होइनन् । आज रेडियो नेपाल जुन अवस्थामा छ, यसको श्रेय श्रोता र सम्बन्धित सरोकारवालालाई नै जान्छ । यद्यपि रेडियो नेपालको समग्र प्राविधिक, प्रस्तुति, प्रसारण सामग्री, पहुँच र प्रभावकारिताका बारेमा तेस्रो पक्षबाट नियमित मूल्याङ्कन र विश्लेषणको पाटो चाहिँ उजागर हुन चाहिँ बाँकी नै छ ।

नेपालमा रेडियो प्रसारणको जननीका रूपमा रेडियो नेपालको स्थापना वि.सं. २००७ साल चैत २० गते (सन् १९५१)मा भएको हो । प्ररम्भमा ‘प्रजातन्त्र नेपाल रेडियो’, ‘नेपाल रेडियो’ हँुंदै रेडियो नेपाल नामकरण भएको यस स्टेसनको सुरुवातको प्रसारण प्रविधि ए.एम. (सर्टवेभ) थियो । स्थापनाकालदेखि नै समाचार र सूचनाका अतिरिक्त जनचेतनामूलक, शिक्षाप्रद, विकास निर्माण र स्वस्थ मनोरञ्जनप्रद कार्यक्रम प्रसार गर्दै आएको रेडियो नेपाल मूलतः सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएको छ ।संसारमा सार्वजनिक, व्यावसायिक, निजी, गैरनाफामूलक र राज्य नियन्त्रितजस्ता रेडियो प्रसारण संस्था सञ्चालन हुँदै आएको परिप्रेक्ष्यमा रेडियो नेपाल स्थापनाकालदेखि २०४१ भदौ १ गतेअघिसम्म नेपाल सरकारको प्रसार विभागका रूपमा र यसपछि विकास समिति ऐनअन्तर्गत नेपाल सरकारले जारी गरेको गठन आदेशबमोजिम ‘रेडियो प्रसार सेवा विकास समिति’का रूपमा सञ्चालन हुँदै आएको छ ।

अग्रणी प्रसारण माध्यमका रूपमा क्रियाशील रहन राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिको जानकारी दिँदै सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्ने, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सम्मान गरी समाचार तथा कार्यक्रम प्रसारण गर्ने, विभिन्न जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदायबीच भावनात्मक एकता अभिवृद्धि गर्नेजस्ता विषयवस्तु नै रेडियो नेपालको मुख्य विशेषता हुन् । साथै नागरिकको आर्थिक, बौद्धिक, शैक्षिक र सामाजिक उत्थानमा सघाउ पु-याउन शैक्षिक, सूचनामूलक, चेतनामूलक, मनोरञ्जनप्रद कार्यक्रम सञ्चालन गर्ने र यसका लागि रेडियो नेपालले मिडियम वेभ, एफएम र डिजिटल प्रविधिमा अनलाइन इन्टरनेटमार्फत रेडियो प्रसारण सेवा सञ्चालन गर्दै आएको छ ।

विगत २०४१ सालदेखि हालसम्म विकास समिति २०१३ को कानुनी संरचनामा सञ्चालन हुँदै आएको रेडियो नेपाल अबका दिनमा पनि यही संरचनामा यसरी नै सञ्चालन गर्दा ‘राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार’ रेडियो नेपालको प्रसारणको समग्र लक्ष्य र उद्देश्य प्राप्त हुनमा कठिनाइ भइरहेको यथार्थ आत्मसात् गरी निम्न दुई विकल्पसहित अगाडि बढाउन सकिनेछ ।

कानुनी संरचना परिवर्तन
वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पे्रस स्वतन्त्रता र प्रसारण क्षेत्रमा द्रुततर विकास भएको देखिन्छ । यस्तै २०६२÷६३ सालको युगान्तकारी परिवर्तनपछि जनताको बढ्दो आकाङ्क्षा सम्बोधन गर्न पनि नेपालमा आम सञ्चारमाध्यमको क्षमता अभिवृद्धि र प्रतिस्पर्धा निकै बढ्दो छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था लागू भएपछि संविधानमा उल्लेख भएबमोजिमका सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलगायतका प्रावधानलाई व्यवहारमा उतार्न पनि सञ्चारमाध्यमसम्बन्धी कानुनलाई सरलीकृत, एकीकृत र संहिताकरण गर्ने कार्यमा बढोत्तरी भएको पाइन्छ ।

सरकारी सञ्चारमाध्यमलाई सरकारको नेतृत्व गर्नेले राजनीतिक रूपमा निर्देशित गर्न सक्ने सम्भावना रहन्छ । सार्वजनिक प्रसारण सेवामा रूपान्तरण भइसकेपछि स्वतन्त्र रूपमा वा संसद्को मातहतमा रहेको सञ्चालक परिषद्बाट प्रसारण सेवा निर्देशित हुने हुँदा समाचार, कार्यक्रम तथा अन्य प्रसारित सामग्री नागरिकको इच्छा, माग र चाहनाअनुसार उत्पादन गरिन्छ भन्ने मान्यता छ । सरकारी सञ्चारमाध्यम केही मात्रामा मात्र आफ्नो आयआर्जनबाट र नपुग बजेट सरकारबाट प्राप्त सरकारी रकमबाट सञ्चालित छन् तर सार्वजनिक प्रसारण सेवामा परिवर्तन भइसकेपछि राज्यले निर्देशित गरेको सार्वजनिक कोष वा जनताद्वारा सेवा शुल्क प्रदान गरेको कोष वा सिधै राज्यबाट प्राप्त कोष वा मिश्रित सार्वजनिक कोषबाट सञ्चालन गरिने हुँदा सार्वजनिक सेवामा नागरिक र राज्यको सम्बन्ध नङ र मासुसरह रहन्छ । सार्वजनिक प्रसारण सेवा स्वायत्त, जनताप्रति उत्तरदायी र स्वार्थबाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ ।

यसै परिप्रेक्ष्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण माध्यमका रूपमा विकास गर्न विविध खाकासहितका मस्यौदा÷प्रतिवेदन र सुझाव प्राप्त हुँदै आएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्तमान संरचनालाई परिवर्तन गरी सार्वजनिक प्रसारण सेवामा विकास गर्ने योजनाअनुरूप पनि नेपालमा आवश्यक सार्वजनिक प्रसारण सेवाको संस्थागत संरचना, ऐन नियम र आवश्यक कानुनी व्यवस्थाको प्रस्ताव गरिसकेको छ ।

यसरी समयको अन्तरालमा पटक पटक आयोग र कार्यदल निर्माण हुँदै सुझाव प्राप्त हुने क्रममा हरेक पटक रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालको संरचानाबाट रूपान्तरण गरी सार्वजनिक प्रसारण सेवामार्फत एउटै छातामुनि राख्ने र हरेक नागरिकको पहुँच पुग्ने गरी सार्वजनिक प्रसारण सेवा उपलब्ध हुनुपर्ने सुझाव पटकपटकका कार्यदलले दिएका छन् । हाल सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिसम्म पुगेको छ । यो विधेयक प्रतिनिधि सभाबाट छलफलपश्चात् पारित भएपछि मात्र सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन जारी हुनेछ । त्यसपछि मात्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पूर्ण रूपमा सार्वजनिक सेवा प्रसारणकै रूपमा सञ्चालन गर्न सकिनेछ ।

अहिलेको रेडियो नेपाल सार्वजनिक प्रसारण सेवा उन्मुख छ । यसका कार्यक्रम÷समाचार र अन्य श्रव्य सामग्रीमा सार्वजनिक प्रसारण सेवाको झलक वा स्वरूप सुन्न पाइन्छ । शतप्रतिशत सार्वजनिक प्रसारणमा हुनुपर्ने खुराक र योग्यता÷मापदण्ड÷गुण चाहिँ कानुनी संरचनामा परिवर्तन भएपछि मात्र लागू हुँदै जानेछन् । यसबाहेक सार्वजनिक प्रसारण सेवा जनहितकारी र लोककल्याणकारी भएकाले पनि यस्तो सेवामा रेडियो नेपाल रूपान्तरण हुनु आवश्यक छ ।साथै सार्वजनिक प्रसारण सेवा सबैका लागि र सधैँका लागि भन्ने आधारभूत÷मूलभूत सिद्धान्त पालना गर्न र सबै नागरिकको रेडियो, राज्यको रेडियोका रूपमा रहन पनि नेपालमा सार्वजनिक प्रसारण सेवा आवश्यक परेको हो ।

विस्तारित कार्यक्रम सञ्चालन
नेपाल सरकारले रेडियो नेपालको सञ्चालन चालू खर्च र पुँजीगत खर्चमा दिँदै आएको अनुदानको अतिरिक्त रेडियो नेपाल आफैँले रेडियो प्रसारणसँग सम्बन्धित कार्यमार्फत रेडियो नेपालको कार्यक्षेत्र विस्तार गरी विस्तारित कार्यक्रम सञ्चालन गर्दै जाने क्रमको एउटा उदाहरण हो– तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना तथा सञ्चालन निर्देशिका २०७८ मार्फत विराटनगरमा सञ्चालन हुँदै आएको सञ्चारग्राम ।यस्तै प्रकारका अन्य विस्तारित कार्यक्रम जस्तैः रेडियो एकेडेमी स्थापना (रेडियो प्रसारणसम्बन्धी अध्ययन अनुसन्धान तथा रेडियो प्रसारण प्रविधि, कार्यक्रम उत्पादन, सङ्गीत प्रशिक्षणलगायतका अल्पकालीन र दीर्घकालीन तालिम कार्यक्रम सञ्चालन), रेडियो सङ्ग्रहालय (रेडियो प्रसारणसँग सम्बन्धित ऐतिहासिक सामग्रीको विगतदेखि वर्तमानसम्मकोे सङ्कलन र प्रदर्शन) आदि ।

हालको विज्ञापन व्यापारका अतिरिक्त डिजिटल प्लेटफर्ममार्फत ई–बिजिनेसको थालनी (रेडियो नेपालका पुराना र नयाँ गीत सङ्गीत तथा श्रव्य सामग्रीलाई ओ.टी.टी. एप्समार्फत विश्व बजारीकरण गरी थप आय आर्जन), व्यावसायिक डिजिटल स्टुडियो स्थापना (केन्द्रीय तथा प्रादेशिक प्रसारण केन्द्रमा व्यावसायिक डिजिटल रेकर्डिङ स्टुडियो स्थापना गरी व्यावसायिक उत्पादन, स्टुडियो भाडा वा तेस्रो पक्षबाट सञ्चालन गर्ने गराउने व्यवस्था) र दोस्रो च्यानलको सुरुवात (हालको केन्द्रीय र प्रादेशिक प्रसारणका अतिरिक्त दोस्रो च्यानलका रूपमा म्युजिक÷न्यूज÷स्पोर्टस् आदि च्यानलको सुरुवात) हुन सक्छन् ।

प्रसारण सामग्रीमा विविधता, प्रतिस्पर्धी जनशक्ति र समयानुकूल डिजिटल प्रविधि प्रयोग गर्दै आफ्ना प्रसारणमा अझ निखार ल्याउनुपर्ने आवश्यकता छ, जसका लागि रेडियो नेपाल प्रयत्नशील देखिन्छ । हाल रेडियो नेपालले प्रारम्भ गर्दै आइरहका आफ्ना पुराना तथा नयाँ गीत सङ्गीतलगायतका श्रव्य सामग्रीलाई डिजिटल प्रविधिमार्फत व्यावसायीकरण गर्ने, जसबाट रेडियो नेपाललाई आय आर्जनका अतिरिक्त रेडियो नेपालका उत्पादनले विश्व बजारसम्मपहुँच राख्न सकून् । यसरी अहिले रेडियो नेपाललाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको तोकिएको अनुदान र रेडियो नेपालले रेडियो कार्यक्रम÷विज्ञापन÷प्रायोजनमार्फत आर्जन गरेको सीमित आम्दानीका कारण हाल रेडियो नेपाल सञ्चालनमा देखा पर्न थालेका अर्थिक समस्या तथा समसामयिक चुनौती सामना गर्न र समाधानतर्फ लैजान पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर पनि अघि बढ्न सकिनेछ ।

उल्लिखित विकल्पमा सरोकारवाला सबै निकायको पहलकदमी र समन्वय अनि रेडियो नेपाल आफ्नै अग्रसरता र क्रियाशीलता पनि उत्तिकै जिम्मेवार पक्ष हुन सक्छन् । रेडियो नेपालको भोलिको बाटोको विकल्प भनेकै विद्यमान कानुनी संरचनाबाटै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर अघि बढ्नु हो । अथवा विद्यमान कानुनी संरचना पूर्ण रूपमा परिवर्तन गरेर सार्वजनिक प्रसारणको बाटोमा रेडियो नेपाललाई राष्ट्रको सञ्चारका रूपमा प्रभावकारी र गतिशील प्रसारण माध्यम बनाई विकास र विस्तार गर्न सकिन्छ ।

 रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा  बुद्धिबहादुर केसीको विचार, स्रोतः गोरखापत्र दैनिक  

यसरी सुरु भएको थियो रेडियो नेपाल 

रेडियो नेपालको पहिलो आवाज २००७ को जनक्रान्तिको विराटनगर मोर्चाबाट प्रस्फुटन भएको थियो । नेपाली कांँग्रेसको जन–मुक्तिसेनाले २००७ कात्तिक २६ को मध्यरातमा वीरगञ्ज कब्जा गरेर जनक्रान्तिको प्रारम्भ ग¥यो । त्यसको भोलिपल्ट कात्तिक २७ कोे मध्यरातमा क्रान्तिकारीले विराटनगर माल र अरू केही कार्यालय कब्जा गरेर देशले जनक्रान्तिमा प्रवेश गरिसकेको सन्देश दिए । मङ्सिर १९ सम्म आइपुग्दा विराटनगरको बडाहाकिम भवनबाहेक त्यहाँका अरू सबै कार्यालयमा जन–मुक्तिसेनाले आफ्नो आधिपत्य स्थापित गरिसकेको थियो । जन–मुक्तिसेनाले आफ्नो प्रमुख कार्यालय विराटनगरको नेपाल बैङ्क लिमिटेडको भवनमा तथा त्यहाँको औद्योगिक क्षेत्रको भवनमा पनि यसले आफ्ना कार्यालय सञ्चालन गरेको थियो ।

सन् १९५० को डिसेम्बर ३ देखि तारिणीप्रसाद कोइराला र फणीश्वरनाथ रेणुको सम्पादनमा मुक्ति सन्देश बुलेटिन प्रकाशित हुन थालेको थियो । तारिणीप्रसाद कोइराला नेपालीका एक ख्यातिप्राप्त लेखक, कवि र गीतकार हुनुहुन्थ्यो । उहाँका कथा र कविता काठमाडौँबाट प्रकाशित हुने शारदा मासिकमा प्रकाशित भइरहेका थिए । फणीश्वरनाथ रेणु हिन्दीका एक वरिष्ठ लेखक हुनुहुन्थ्यो । उहाँहरू दुवै जनाबाटै मुक्ति सन्देशमा विराटनगरको क्रान्तिको विस्तृत फेहरिस्त एवं देशको अरू भागमा जनक्रान्ति कहाँ–कहाँ, कसरी अघि बढिरहेको छ, यी सबैको वस्तुपरक विवरण प्रकाशित हुन्थे । मुक्ति सन्देशमा छापिएका समाचार, सम्पादकीय, विश्लेषण, टिप्पणी तथा अरू सबै विवरण आदिले यसको लोकप्रियता सबैतिर बढिरहेको थियो । यसलाई खोजी–खोजी पढ्नेहरूको सङ्ख्यामा हरेक दिन वृद्धि भइरहेको थियो । यसले तारिणी र रेणुलाई उत्साहित पा-यो ।

देशको धेरै भागमा क्रान्ति सञ्चालन भइरहेको थियो । त्यसैले हुलाक वा अरू माध्यमबाट मुक्ति सन्देश सबैतिर पुग्न सक्तैनथ्यो । तारिणी र रेणुले त्यहाँको वायरलेस सेटलाई परिमार्जन गरेर रेडियो प्रसारण प्रारम्भ गर्ने योजना तयार पार्नुभयोे । त्यसबेला जनक्रान्तिका कमान्डर बीपी कोइराला विराटनगरको क्रान्ति मोर्चामा हुनुहुन्थ्यो । तारिणी र रेणुले बीपीलाई भेटेर रेडियो प्रसारणको योजना उहाँलाई अवगत गराउनुभयो । तारिणी र रेणुको योजना बीपीलाई उचित लाग्यो । २००७ को मङ्सिर २७ गते पटनाबाट नयाँ ट्रान्समिटर ल्याइयो । मङ्सिर २८ गते बिहान ८ बजेदेखि सर्टवेभ ४१ मिटर ब्यान्डमा रेडियो प्रसारण सुरु हुने सूचना दिइयो ।

२७ गतेको अपराह्नतिर विराटनगर जुट मिलको एउटा कोठालाई साउन्ड प्रुफ पारियो र त्यसमा वायरलेस सेट र अरू केही औजार राखियो । २७ गते साँझ बल्लतल्ल जोगबनीको भजनमण्डलीबाट रेणुले एउटा हारमोनियम प्राप्त गर्नुभयो । रेडियो प्रसारण सुरु हुनुभन्दा केही पहिले मङ्सिर २८ गते बिहान मात्र घाइते बिरामीको हेरचाह गर्न अस्पतालमा कार्यरत विजयालक्ष्मी कोइराला र रानु अधिकारी पनि रेडियो प्रसारण हुने स्थानमा आए । उहाँहरूको र वायरलेसमा काम गर्नेहरूको सामूहिक स्वरमा विराटनगरमा जनक्रान्तिको प्रारम्भसँंगै तयार पारिएको ‘नेपाली अघि बढ हातमा क्रान्ति झन्डा ली’को रिहर्सल गरियो ।

२००७ को मङ्सिर २८ गते बिहान ८ बज्न लाग्दा अपरेटर लामाले वायरलेस सेट मिलाए । त्यसपछि भरखरै रिहर्सल गरिएको क्रान्ति गीत सुनाइयो । ठीक ८ बजे बिहान माइक्रोफोनको अगाडि उभिएर तारिणीप्रसाद कोइरालाले भन्नुभयो, “जय नेपाल प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको अभिवादन ।” हामी नेपालको मुक्त क्षेत्र विराटनगरबाट प्रजातन्त्रको सन्देश सुनाउन लागेका छौंँ । त्यसपछि तारिणीप्रसाद कोइरालाले नेपालीमा समाचार वाचन गर्नुभयो । हिन्दीमा फणीश्वरनाथ रेणुले र अङ्ग्रेजीमा विजयालक्ष्मी कोइरालाले समाचार वाचन गर्नुभयो ।

मङ्सिर २८ देखि प्रत्येक बिहान दुई घण्टा, अपराह्न दुई घण्टा र साँझ दुई घण्टाको आफ्नो प्रसारणमा प्रजातन्त्र नेपाल रेडियोले क्रान्तिको सन्देश प्रसारित गरिरह्यो । २००३ सालमा आइपुगेपछि मात्र सबै नेपालीलाई पद्म शमशेरले रेडियो राख्न पाउने अनुमति दिएका थिए । त्यसैले २००७ सम्म पनि धेरैसित रेडियो थिएन । प्रजातन्त्र नेपाल रेडियोको प्रसारण प्रारम्भ हुन थालेपछि देशमा के भइरहेछ, त्यो थाहा पाउन उत्सुकता धेरैमा देखा प¥यो । रेडियो उपलब्ध हुने ठाउँमा धेरै मानिस एकत्रित भएर ध्यानमग्नताका साथ रेडियो सुन्न थाले । कहाँ–कहाँ जनक्रान्तिले कसरी सफलता हासिल गरिरहेको छ, त्यसको यथार्थ थाहा पाउन थाले । देशको धेरै भागमा बन्दुक र गोलीसँगै बढ्दै गएको जनक्रान्ति बोलीमा पनि रूपान्तरण हुँदै गयो । क्रान्तिभन्दा केही टाढा तटस्थजस्तो स्थितिमा बसिरहेका नेपालीलाई पनि प्रजातन्त्र नेपाल रेडियोले एकतन्त्रीय राणा शासनको विरोधमा उभिएर देशको निमित्त केही गर्न प्रेरणाा दियो, उत्साह र साहस दिइरह्यो ।

जन–मुक्तिसेना र राणा पक्षका सेनाको बीचमा दुवैतिरबाट धुवाँधार गोली चलिरहेको बेला दुवैतिरको गोलीको बीचमा सिङ्ग्याई नदीको किनारमा उभिएर एउटा ट्रकमा राखिएको ट्रान्समिटरबाट तारिणीप्रसाद कोइरालाले प्रत्यक्ष वर्णन दिइरहनुभयो । गोली र ग्रिनेडको आवाजले रेडियो सेटलाई नै हल्लाउने जस्तो स्थितिमा श्रोता भयभित भए तर दुईतिरको गोलीको बीचमा उभिएर तारिणीले आफ्नो असाधारण साहस प्रदर्शन गरिरहनुभयो ।

सम्पूर्ण मोरङमा जन–मुक्तिसेनाले आफ्नो आधिपत्य कायम गरेपछि रेडियो प्रसारणलाई बडाहाकिम भवनमा सारियो । त्यसबेलासम्म निर्भmर, राजेन्द्रप्रसाद, शान्ति मास्के र अरूहरू पनि प्रजातन्त्र नेपाल रेडियोको सहयोगी भएर आइसकेका थिए । रानु अधिकारीको स्वरमा तारिणीको क्रान्तिकारी गीतहरू मात्र होइन, अरू गीत पनि आउन थाले । प्रजातन्त्र नेपाल रेडियो क्रान्तिको सन्देश वाहकका रूपमा मात्र रहेन, यो सञ्चारको समग्र माध्यम भएर आयो । जनताको सुसूचित हुने हकको सशक्त माध्यम भएर आयो । यसले साहित्यका विभिन्न विधालाई र अरू कतिपय सामग्रीलाई आफ्नो कार्यक्रममा समावेश गर्दै गयो ।

नेपाली काँग्रेसको यही जनक्रान्तिले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना ग-यो । यही ऐतिहासिक दिन फागुन ७ देखि युगकवि सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्ल ‘गोठाले’को सम्पादनमा दैनिक आवाज प्रकाशित हुन थालेको थियो । नेपालबाट प्रकाशित हुने यो पहिलो दैनिक थियो । नवस्थापित प्रजातन्त्रको संस्थागत विकासका प्रति प्रतिबद्ध भएर प्रजातन्त्र र नेपाली जनताको बीचमा सामञ्जस्य कायम गर्न र प्रजातन्त्रको उपादेयतालाई जन–जीवनसम्म पु-याउन आवाजको प्रकाशन सुरु भएको थियो । यसरी प्रजातन्त्रलाई सुदृढ पार्न सबै चेतनशील नेपाली लागिरहेका थिए । उनीहरू राजधानी काठमाडौंँबाट रेडियो प्रसारणको आवश्यकतालाई पनि महसुस गरिरहेका थिए ।

त्यसैले गृहमन्त्री बीपी कोइरालाले तारिणीप्रसाद कोइरालालाई काठमाडौँमा बोलाउनुभयो र प्रजातन्त्र नेपाल रेडियोको प्रसारणलाई विराटनगरबाट काठमाडौंँमा स्थानन्तरण गर्न भन्नुभयो । प्रजातन्त्र नेपाल रेडियोले विराटनगरको चैत १९ को प्रसारणमा भन्यो– भोलि चैत २० गतेदेखि यसको प्रसारण काठमाडौँबाट हुनेछ र यसको विराटनगरको प्रसारण बन्द हुनेछ ।

२००७ को चैत २० देखि प्रजातन्त्र नेपाल रेडियोको प्रसारण काठमाडौँको सिंहदरबारभित्र, राणाहरूको छोराछोरीको पठनपाठन हुने स्कुल भनिने भवनबाट सुरु भयो । तारिणीप्रसाद कोइराला यसको डाइरेक्टर हुनुहुन्थ्यो । यसको प्रमुख सहयोगी बालकृष्ण सम हुनुहुन्थ्यो । उहाँको छोरी रश्मी राज्यलक्ष्मी शाह थिइन् । छोरा जनार्दन सम थिए । अरू सहयोगी थिए– नातिकाजी, हरिप्रसाद रिमाल, रत्नदास प्रकाश, धर्मराज थापा, कोइली देवी, भैरवबहादुर थापा, उही गोविन्दबहादुर गुरुङ, एम.एस. देवकोटा, नीरविक्रम प्यासी आदि ।

काठमाडौँबाट पनि प्रजातन्त्र नेपाल रेडियोले विराटनगरकै निरन्तरतामा नेपाली, हिन्दी र अङ्ग्रेजीमा समाचार प्रसारित ग-यो । केहीपछि नेवारीमा पनि समाचार वाचन हुन थाल्यो । जनताको सुसूचित हुने हकको सम्मान गर्ने र अरू कतिपय कुरामा यसले सधैँ ध्यान दिइरह्यो । यसले छात्र कार्यक्रम, महिला कार्यक्रम आदि तथा कथा, कविता, नाटक, आधुनिक गीत, लोकगीत प्रसारित गरिरह्यो । प्रत्येक शनिबार प्रसारित हुने बालबाटिका कार्यक्रमलाई तारिणीप्रसाद कोइराला आफैँले सञ्चालन गर्नुहुन्थ्यो । यी सबैबाट प्रजातन्त्र नेपाल रेडियोले आफ्नो श्रोता बढाउँदै लग्यो । यो घर–घरमा पुग्यो । व्यक्ति–व्यक्तिमा पुग्यो । २००८ को असारमा यसको नाम परिवर्तन गरियो र यसलाई ‘रेडियो नेपाल’ भनियो ।

प्रजातन्त्र नेपाल रेडियोले आफ्नो आवाज लिएर आउँदा, ‘नेपाल’ले त्यसबेला राजधानी काठमाडौँलाई मात्र बुझाउने गथ्र्यो । हिमाल, पहाड, मधेस समग्र देशको अविभाज्यता ‘नेपाल’मा प्रकट हुनुपर्छ भन्ने राष्ट्रिय भावनालाई प्रजातन्त्र नेपाल रेडियोको प्रत्येक दिनको पहिलो आवाज ‘जय नेपाल’मा र जनक्रान्तिको मोर्चामा जन–मुक्तिसेनाको आफ्नो आवाज ‘जय नेपाल’मा यही राष्ट्रिय भावना अन्तरनिहित थियो । यो ‘जय नेपाल’ले अहिलेसम्म पनि रेडियो नेपालमा र जन–मुक्तिसेना समाहित नेपाल प्रहरीमा निरन्तरता पाइरहेको छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु