
गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नसक्ने अडानमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भौतिक पुर्वधार तथा यातायात मन्त्रालयको जिम्मा लिन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको यो प्रस्ताव सँगै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका अघि अब दुई विकल्प देखिएका छन् । गृहमन्त्रीको अडानबाट पछि फर्किएर उनले भौतिक पूर्वधार मन्त्रालयमा चित्त बुझाउनु पर्ने छ वा सरकारबाट बाहिरिने निर्णय गर्नुपर्ने छ ।
रास्वपाको केन्द्रिय कार्यालय बसुन्धारमा अहिले जारी केन्द्रिय कमिटी र संसदीय दलको संयुक्तको बैठकमा प्रधानमन्त्री प्रचण्डको यहि प्रस्तावमा छलफल भइरहेको बताइएको छ।
बैठकमा गृहमन्त्री पार्टीलाई नदिने हो भने सरकारबाट बाहिरनु पर्ने धारणा केहि सदस्यहरुले राखेका छन् । कतिपयले भने सरकारबाट बाहिरिएर आफ्नो दललाई राजनीतिक अस्थिरताको कारकमा देखाउन नहुने भन्दै भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा चित्ता बुझाउनु पर्ने धारणा राखेका छन ।
गृहमन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने भन्दै रास्वपाले दिएको २ दिनको समय सीमा सकिनै लाग्दा प्रधानमन्त्रीको नयाँ प्रस्तावमा बैठकले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ।