26.1 C
Kathmandu
Thursday, May 23, 2024

सरकारमा सुशासन र सदाचार

फ्रान्सेली लेखक एमिल जोला भन्छन्, ‘यो जगत्मा सबै मानिस असल भए भने कथा लेख्न कठिन हुनेछ।’ मानव इतिहासमा सबैभन्दा धेरै मसी र वाणी खर्च भएको विषय नैतिक र सदाचार शिक्षा हो। परन्तु अझै पनि नैतिक शिक्षाको कमी रहेकाले नै समाजमा अनाचार र दुराचार फैलिएको हो भन्न र लेख्न छोडिएको छैन। सभ्यताको आरम्भदेखि नै गर्दै आएको यो एक आदर्शवादी मजाक हो।

मनुष्य जातिमा एउटा अचम्मको मतैक्य छ, प्रायः सबै समाजमा ‘पहिले ठिक थियो र आज सबै खराब छ’ भन्ने परम्परा छ। पूर्वीय दर्शनमा मानवीय चरित्रलाई प्रतिनिधित्व गर्ने चार युगको परिकल्पना गरिएको छ। सत्ययुगमा शुभ नै शुभ थियो भन्दाभन्दै पनि त्यस शुभ समयमा समेत भयानक दुराचार, कामुकता र सत्ताससंघर्षका घटना भएको पाइन्छ। सत्ययुगमा सबै शुभ नै शुभ भएको भए त्यस युगको कथा लेख्न कठिन हुने थियो। पूर्वकालमा सबै मानिस सत्यवादी र सदाचारी भएको भए रामायण महाकाव्य लेख्ने कथानक नै प्राप्त हुने थिएन।

कलियुगभन्दा उच्चस्तरका अघिल्ला युगहरूमा सत्यवादी हरिश्चन्द्र र युधिष्ठिरको सत्यवादको महिमागान गर्ने आवश्यकता पर्दैनथ्यो। न नीति सुनाएर विदुर हैरान हुन्थे, न कृष्ण र अर्जुनबीचको सुन्दर संवादमय गीता अस्तित्वमा आउँथ्यो। अघिल्लो समयमा न्याय, सदाचार र सत्यको पक्षपोषण मात्र भएको भए न राजकुमार सिद्धार्थ घरबार छाडेर हिँड्ने अवस्था आउँथ्यो, न कौटिल्य र अरस्तुलाई चिन्न पाइन्थ्यो, न त राजा पृथ्वीनारायण शाहले आफ्ना सेवकहरूको घुसपेसबारे चर्चा गर्थे। मानव जसरी स्वभावैले दयालु, करुणामय र परोपकारी छ, त्यसरी नै काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यबाट समेत ग्रस्त छ।

दण्डजरिवानामा परेका सामान्य मानिसको टाउको गनेर सफलता पाएको गौरव गर्नु सौभाग्यको कुरा हुनै सक्दैन । आफ्नो समग्र जीवन नैतिकता र सदाचारको उपदेश दिएरै बिताइरहेका कन्फ्युसियसले लाओत्सुलाई सोधे, ‘तपाईंको विचारमा नैतिकता के हो ?’ लाउत्सुको उत्तर थियो, ‘जसले आफ्नो वासना, लोभ र चाहनालाई कानुन र बदनामीको डरले मात्र दबाएर राख्दछ। त्यसैले मात्र नैतिकता र सदाचारको दुहाई दिइरहन्छ।’ लाओत्सुको वचन सुनेर कन्फ्युसियस भयभीत भए। मानवीय स्वभावलाई यति सरल र यथार्थ रूपमा व्याख्या गर्ने हिम्मत जो कोहीमा हुँदैन। 

पद्घति सदाचारी भएपछि व्यत्ति पनि स्वतः सदाचारी हुँदोरहेछ। समृद्धि भनेको पश्चिमीकरण हो भन्ने सोचले गर्दा हाम्रो मुलुक सांस्कृतिक साम्राज्यवादको चंगुलमा परिसकेको छ। पश्चिमले सिकाएका सुशासनका आयामहरू घोक्न बाध्य छौं हामी।
कुनै कालखण्डमा ज्यादा र कुनैमा न्यून भयो होला, किन्तु यो सनातन मानवीय प्रवृत्ति हो। यहाँ प्रश्न उठ्न सक्छ कि त्यसो भए समाजलाई उसकै मनोमानीमा छाड्ने त ? त्यस्तो कदापि गर्न सकिन्न र मिल्दैन। सभ्यतामा बसेपछि केही कुरा समाजको हितका लागि र केही आफ्नो आत्मशुद्धिका लागि त्याग गर्नै पर्छ। यो सभ्यताले दिएको बन्धन र उपहार दुवै हो। हामीले एउटा कुरा गहिरिएर मनन गर्नु जरुरी छ। यतिका अर्तिउपदेश र कानुनको उपस्थितिमा त यो हाल छ भने तिनको अभावमा झन् कस्तो हुँदो हो ?

आफ्नो समग्र जीवन नैतिकता र सदाचारको उपदेश दिएरै बिताइरहेका कन्फ्युसियसले लाओत्सुलाई सोधे, ‘तपाईंको विचारमा नैतिकता के हो ?’ लाउत्सुको उत्तर थियो, ‘जसले आफ्नो वासना, लोभ र चाहनालाई कानुन र बदनामीको डरले मात्र दबाएर राख्दछ। त्यसैले मात्र नैतिकता र सदाचारको दुहाई दिइरहन्छ।’ लाओत्सुको वचन सुनेर कन्फ्युसियस भयभीत भए। मानवीय स्वभावलाई यति सरल र यथार्थ रूपमा व्याख्या गर्ने हिम्मत जो कोहीमा हुँदैन। जो सच्चा सदाचारी छ, त्यस्तो व्यक्तिलाई आफू सदाचारी छु भन्ने ज्ञान नै हुँदैन।

प्रजा सुखे सुखं राज्ञः प्रजानां तु हिते हितं
नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितं
चाणक्य

अर्थात् …जुन कुरा जनतालाई प्रीतिकर लाग्छ त्यसैलाई आत्मसात गर्दा नै शासकको समेत हित हुन्छ। सभ्यताले गरेको सबैभन्दा आश्चर्यको आविष्कार डरलाग्दो ईश्वर, राज्य र सदाचार पद्धति हो। समाजको निर्माण आधारभूत रूपमा व्यक्ति र सोमार्फत समाजको हितका लागि भएको हो भने राज्यको निर्माण मूलतः नियन्त्रण र दमनका लागि। शासन शब्दमा शासन या दण्डको प्रधानता र भयको झझल्को महसुस हुन्छ। कुशासन शासनको विकृत रूप हो। यो अत्यन्तै दुराशयपूर्ण तरिकाले चलाइने ‘सेटिङ’मा आधारित शासन प्रणाली हो।

सुशासन शब्द आफैंमा सुन्दर र आकर्षक छ। सुशासन रहेको राज्यका जनता भयमुक्त हुन्छन्। सरकारको उच्च तहमा आसीन व्यक्तिमा सत् र असत् छुट्याउने विवेक हुन्छ। सुशासित राज्यको राष्ट्रिय जीवन शान्त, शालीन र राष्ट्रप्रेमी हुन्छ। सुशासन सरकारसँग र सदाचार व्यक्तिसँग मात्र सम्बन्धित हुन्छ भन्ने धारणा गलत छ। सार्वजनिक सेवा, उत्पादन, व्यापार, राजनीति र सामाजिक कार्यमा लागेका व्यक्ति सुशासन कायम गर्ने कार्यमा सरकारको सहयोगी र व्यक्तिगत रूपमा सदाचारी हुनु आवश्यक हुन्छ। प्रत्येक व्यक्ति परिवार, समाज, राष्ट्र र स्वयंप्रति जिम्मेवार बन्नु नै सदाचारी हुनुको लक्षण हो।

सदाचारको दायरा अत्यन्त फराकिलो छ। सरकार आफैं अनुकरणीय सदाचारी बन्नु आवश्यक छ। जनतालाई सास फेर्नका लागि शुद्ध हावा, सफा खानेपानी, निःशुल्क र सर्वसुलभ शिक्षा, निर्वाध स्वास्थ सेवा, रोजगारी एवं भविष्यका सन्ततिका खातिर राष्ट्रिय सम्पदाको जगेर्ना गर्नु राजकीय सदाचारको नैतिक पक्ष हो। सुशासनको कानुनी व्यवस्थालाई मात्र जोड दिइने एकपक्षीय सदाचारबाट समाजमा शान्ति, समृद्धि र सुखको आशा गर्नु कोरा कल्पना मात्र हो। सामान्यतः सदाचार पालनबारे उपदेशात्मक र दण्डात्मक गरी दुई तरिका अपनाइएको हुन्छ। उपदेश र दण्डको माध्यमबाट मात्र समाजमा सदाचार कायम गर्न सकिने भए धेरै वर्षअघि नै सारा मानव समाज सदाचारी भइसक्थ्यो।

दण्डको डरले सदाचारी हुन प्रेरित गर्ने भए कुनै समयको बेलायतमा पाकेटमारहरूलाई सार्वजनिक ठाउँमा झुन्ड्याएको हेर्न आउनेहरूले त्यही समयमा पाकेटमारी गर्ने थिएनन्। कर्मअनुसार स्वर्ग या नरक जानुपर्ने कुराले डर पैदा गर्ने भए प्रेरक प्रवचन दिने बाबाको उपदेश सुन्न आएकाहरूको झोला र चप्पल भक्तहरूले नै चोर्ने थिएनन्। अघाएकाले भोकोलाई जीवनको उद्देश्य खानु मात्र होइन भनी उपदेश दिएर सदाचारी बनाउने प्रयत्न गर्नु अर्थहीन छ। जीवनको लक्ष्य खानु मात्र होइन भन्ने थाहा पाउन पनि भरिलो पेटको दरकार पर्छ। सबैलाई थाहा भएको कुरा हो, प्रायः नुनचोरहरूलाई कारबाही गर्ने सुन चोर नै हुन्छ। पोखरीका ठूला माछाले साना माछा निलेजस्तो मत्स्य न्यायले दुराचारको विनाश गर्न सक्दैन। लुकेर समाजको करोड हात लागी गर्ने व्यापारीले प्रकट रूपमा त्यही समाजलाई दस हजारको खैरात बाँडेर सुनाम कमाउँछ। शक्तिशालीले शक्तिहीनलाई काबुमा राख्न कडा कानुन बनाउँछ। सदाचारको एकोहोरो शृंखला अविरल चलिरहेछ यहाँ।

गिट्टी कुट्ने मजदुर, साना किसान, सक्कली सुकुम्बासी, कारखानाका मजदुर र घरेलु ‘नोकर’का सरकारी विद्यालयमा पढ्ने केटाकेटीलाई लोभी हुनु हुन्न, त्यागी हुनुपर्छ, कसैलाई दुःख पीर दिनु हुँदैन आदिजस्ता नैतिक शिक्षा प्रदान गर्दा ती बालबालिका आश्चर्य मान्छन्। यो गरिबीमाथिको भद्दा मजाक हो। आदर्शको बखान गर्नु एउटा कुरा हो तर हाम्रो राज्यव्यवस्था र शिक्षापद्धतिले निर्माण गरेको समाज यही हो। यहाँ जीवनपद्धतिको पश्चिमीकरण त भयो, किन्तु राज्यले प्रदान गर्ने सुविधा जस्ताका त्यस्तै रहे। पश्चिमी समाजमा आर्थिक अपराधको न्युनीकरण हुनुको कारण त्यहाँका मानिस निर्लोभी, निस्वार्थी र महान् सदाचारी भएर होइन। अपराध घट्नुको मूल कारण हो। राज्यको तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगारीका साथै अशक्त र वृद्धावस्थाका लागि सामाजिक सुरक्षाको प्रत्याभूति। पद्धति सदाचारी भएपछि व्यक्ति पनि स्वतः सदाचारी हुँदोरहेछ।

समृद्धि भनेको पश्चिमीकरण हो भन्ने सोचले गर्दा हाम्रो मुलुक सांस्कृतिक साम्राज्यवादको चंगुलमा परिसकेको छ। पश्चिमले सिकाएका सुशासनका आयामहरू घोक्न बाध्य छौं हामी। लोक सेवा आयोग र तालिमको पाठ्यक्रममा तिनै सिद्धान्तका आधारमा कागज–पत्र कसरी मिलाउने भन्नेबारे उल्लेख भएको हुन्छ। आफ्नो संस्कृतिको जरो मासिने गरी प्राप्त हुने समृद्धिले खुसी दिन सक्दैन। राज्यले अन्तर्राष्ट्रिय सहयोग ग्रहण गर्दा राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनु पनि सुशासन र राजकीय सदाचारको नैतिक पक्ष हो।

अन्त्यमा, आफ्ना बालबालिकाको शिक्षाका लागि पैसाको जोहो गर्नुपर्ने र बुढेसकालमा ज्यान पाल्न र औषधिमूलोका लागि धन आर्जन गर्न बाध्य हुने परिस्थिति कायम रहेसम्म नैतिक उपदेश र सुशासनीय कानुनहरू वास्तविक सदाचार कायम गर्न कारागार हुनु असम्भव छ। दण्डजरिवानामा परेका सामान्य मानिसको टाउको गनेर सफलता पाएको गौरव गर्नु सौभाग्यको कुरा हुनै सक्दैन। राज्यको तर्फबाट आधारभूत सुविधा, रोजगारी, समान एवं सुलभ शिक्षा र न्यूनतम रूपमा समान र सहज पहुँचको स्वास्थ्य सेवा प्रदान गर्न सकियो भने धेरै हदसम्म आर्थिक सदाचार कायम हुनेछ। त्यति गर्दा पनि सदाचारको सीमा भत्काउने व्यक्तिलाई कारबाही गर्नुको मजा पनि अर्कै हुनेछ। सभार अन्पूर्ण पोष्टमा  भागवत खनालको लेख

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु